काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्धका साथै दुई पार्टीबिचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

उक्त भेटमा सहभागी काङ्ग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतका अनुसार काङ्ग्रेस र भाजपाबिचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।

दुई दलबिच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा. महतले बताए । सह–महामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् । रासस