काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त बनाउन खाली रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उक्त बैठकले पार्टीको विभिन्न विभागको प्रमुखहरु पनि तोकेको छ । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको प्रवक्ता श्रेष्ठले बताउनु भएको छ । प्रवक्ता श्रेष्ठ ‘बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको र इञ्चार्जहरु तोकिएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ’ भन्नुभयो ।

नेता श्रेष्ठका अनुसार कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । नेता श्रेष्ठले ‘अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछि प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको’ बताउनु भएको छ । उहाँले ‘निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौँ र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् ।


ति अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकतावद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिंगै पार्टी कमिटीलाई निर्देशित गरिएको छ’ भन्नुभयो ।
मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिंदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पुरा भइसकेपछि मन्त्रिपरिषद विस्तार हुने बताउनु भएको छ ।