काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएकोमा २ हजार २ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १६ जनामा कोरोना परीक्षण भएकोमा १ हजार ९ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३ सय ९५, ललितपुरमा १ सय १० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४ सय २०, भक्तपुरमा १ हजार ४ सय तथा ललितपुरमा २ हजार २ सय १८ रहेको पनि सो मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५० सय ९ पुगेको छ । हाल देशभर ३८ हजार ७ सय ५१ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।