काठमाडौं – सरकारले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तुहरु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने चाडपर्वलाई औपचारिकता मात्र दिन नागरिकसँग आग्रह गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गर्न गराउन भनिएको छ ।

कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ । उपत्यकामा आगामी ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै भोली हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रण्मण नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहेको छ ।