काठमाडौं – नेपाली काङ्ग्रेसका जिल्ला सभापति काभ्रेपलाञ्चोकका मधु आचार्यले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ । पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि र कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गर्नुभएको हो ।

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ । साउन ३० गते सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको थियो । तर भदौ ६ पुग्दा पनि क्रियाशील सदस्यताको विवाद टुङ्गो लागिसकेको छैन ।

प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्यका बारेमा हिजो शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नेताहरू सिटौला, रिजाल र लेखकसहित छलफल भएको थियो। । क्रियाशील सदस्यताको बाँकी काम अन्तिम चरणमा पुगेको र आजसम्ममा सम्पन्न हुने नेता लेखकले बताउनुभयो । साउन ३० गतेको केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ आसन्न महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो ।

उक्त कार्यतालिकाअनुसार गाउँ//नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । काङ्ग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । रासस