काठमाडौं – माधवकुमार नेपालले दल दर्ताका लागि निवेदन दिनुभएको नेकपा एकीकृत समाजवादीमा आफू पनि आबद्ध रहेको भन्दै झलनाथ खनालले समर्थन जनाउनुभएको छ । भारतको नयाँ दिल्लीस्थिति एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालले सामाजिक सञ्जालमार्फत आफू एकीकृत समाजवादीको पक्षमा रहेको बताउनुभएको हो । नेपाललाई अध्यक्ष प्रस्ताव गर्दै दर्ताको प्रक्रियामा रहेको एकीकृत समाजवादीले खनाललाई वरिष्ठ नेता बनाएको छ ।

नेकपा एकीकृत समाजवादी दर्ताका लागि नेपाल पक्षले शुक्रबार आयोगमा निवेदन दिएको छ । बुधबार दर्ता प्रक्रिया अघि बढाएको नेकपा एमाले समाजवादी दर्ता गर्न नमिल्ने निर्णय आयोगले गरेपछि नयाँ नाममा शुक्रबार पार्टी दर्ताको प्रक्रिया सुरु गरेको थियो । आयोगले सनाखतका लागि ९ भदौमा उपस्थित हुन एकीकृत समाजवादीलाई सूचित गराएको छ ।