काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । हिजो चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउँदै धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकासप्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरै धेरै धन्यवाद, तपाईहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।”

उहाँले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्य स्थल बन्ने बताउनुभयो । अध्यक्ष ओेलीले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको जिकिर गर्नुभएको छ ।