काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने लक्ष्यसाथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै डेढ महिनाभित्र कार्यान्वयनमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

हिजो ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि विद्युत् प्राधिकरणसँग आफूहरूले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत् नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पार्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘२० युनिटसम्म विद्युत् बाल्ने कति छन् ? भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागेँ । त्योचाहिँ अहिले विद्युत् प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन् । उनीहरूलाई २० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन मैले नेपाल विद्युत् प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु । प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु । त्यो विद्युत् नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ ।’

मन्त्री भुसालले गरिबी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गर्नुभएको छ । उहाँले गरिबी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दल आलोचनाको पात्र बन्न पुगेको बताउनुभयो ।