काठमाडौं – प्रतिनिधिसभाका सांसद्हरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई÷दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद् जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भिर गल्ती गरेको बताउनुभयो । समितिका सभापतिसमेत रहनुभएको उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक–पटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले विद्यार्थीहरुलाई आतङ्कित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा सङ्कट व्यवस्थापन (सिसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराउनुभएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले समितिमा सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टिकरण दिनुभयो । उहाँले आफूहरु चरणवद्ध रुपमा भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेता पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको उल्लेख गर्नुभएको छ ।