काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले प्रस्ताव गर्नुभएको दलको नाम परिवर्तन हुने भएको छ । आज बिहान बसेको ठाकुर पक्षको बैठकले प्रस्तावित नाम परिवर्तन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने निर्णय भएको बताउनुभयो ।

साथै बैठकले वरिष्ठ नेता दुई जनालाई बनाउने निर्णय गरेको छ । यस अघि अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो हुुनुहुन्थ्यो । तर, आज बसेको बैठकले शरदसिंह भण्डारीलाई पनि वरिष्ठ नेता बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य झाले जानकारी दिनुभयो ।

गत बुधबार महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । तर, आयोगले दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोर अर्को पार्टी बनाउन नमिल्ने भन्दै प्रष्ट पारेपछि ठाकुर पक्षले नयाँ नाम जुराएको हो । कार्यकारिणी सदस्य झाले प्रस्तावित नयाँ नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोग पुगेको जानकारी दिनुभएको छ ।