काठमाडौं – प्राविधिक शिक्षाका विद्यार्थीका लागि कक्षा ९ र १० को पाठ्यक्रममा पनि चलचित्र पढाइ हुने भएको छ । चलचित्र विकास बोर्डले पाठ्यक्रम विकास केन्द्रमा सेलेबस पठाइसकेको र सकारात्मक प्रतिक्रिया आएको बोर्डले जनाएको छ ।

यद्यपि, यो प्राविधिक शिक्षाका विद्यार्थीका लागि मात्रै हो । “अनिवार्य विषयमा भने फिल्म पढाइ हुने छैन । प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले भने ९ र १० कक्षाका विद्यार्थीले फिल्म पढ्न पाउने करिब करिब पक्का जस्तै भइसकेको छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्नुहुन्छ, “यसअघि हामीले ११ र १२ कक्षामा फिल्म पढाउने व्यवस्था मिलाएका थियौं । अब ९ र १० मा पनि अध्ययन गर्न पाइने छ ।”

यसअघि स्नातकोत्तर तहमा मात्रै फिल्म पढ्न पाइने व्यवस्था थियो । “फिल्ममै भविष्य खोज्नेहरुका लागि म विद्यालय तहबाटै फिल्म पढ्छु भन्नेहरुका लागि लक्षित गरेर हामीले कक्षा ९ र १० बेसिक कोर्ष डिजाइन गरेका हौं,” बोर्ड अध्यक्ष दाहालले बताउनुभयो । विषय विज्ञहरुसँग छलफल गरेर सेलेबस तयार गरिएको दाहालले जानकारी दिनुभयो ।