काठमाडौं – निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ । बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रित) दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दल दर्ताका लागि निवेदन दिनुभएका नेताहरुलाई अनुसूची अनुरुपको फारम उपलब्ध गराइएको बताउनुभयो । उहाँले संशोधित नियमावली अनुरुपको फारम उपलब्ध गराइएको र अनुसूचीमा उल्लेख विषयवस्तु भरेर आएपछि राजनीतिक दल दर्ताका लागि सनाखत सुरु हुने बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकबाट सिफारिस राजनीति दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले भाद्र २ मा जारी गर्नुभएको थियो । उक्त अध्यादेश अनुरुप आयोगले हिजो राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन गरेर कार्यविधि तयार पारि आवश्यक सम्पादनसहित राजपत्रमा प्रकाशित गर्न कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रालयले आवश्यक सम्पादनपछि राजपत्रमा सूचना प्रकाशित गरेर आज त्यही कार्यविधि अनुरुपको फारम भर्न भन्दै आयोगले दल दर्ताका लागि निवेदन दिनुभएका नेपाल पक्ष र ठाकुर पक्षलाई उपलब्ध गराएको हो ।