काठमाडौं– निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण गरी जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगको उक्त नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको हो ।

उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका नेपाल कम्युनिस्ट पार्टी एमालेबाट फुटेर बनेको नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको जसपा (लोकतान्त्रिक) का लागि दल दर्तागर्ने बाटो सहज भएको छ । दल दर्ता सम्बन्धी नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

नियमावलीअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतका केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक भन्ने शब्द राखिएको छ । यस्तै सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले छुट्टै दल बनाउन निवेदन दिएकामा त्यसरी निवेदन दिने सदस्य संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी रहे÷नरहेका सम्बन्धमा आयोगले सङ्घीय संसद् सचिवालयमा पत्राचार गरी बुझ्नसक्ने व्यवस्था छ ।

अध्यादेशका आधारमा जारी भएको नियमावलीअनुसार छुट्टै नयाँ दल गठन भएकामा त्यस्तो दल गठन हुनुभन्दा अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यले दल गठन भएको २१ दिनभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई जिल्ला निर्वाचन अधिकारीसमक्ष सनाखत गर्नुपर्नेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार जारी गर्नुभएको थियो । उक्त अध्यादेश जारी भएपछि एमालेको असन्तुष्ट समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई नयाँ पार्टी खोल्न ढोका खुलेको हो ।