काठमाडौं – त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो ।

करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका हुन् । त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताउनुभएको छ । उहाँले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिकसत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उहाँका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आङ्गिक हुनेछन् । सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आङ्गिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछन् ।