काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा पदीय दायित्व बिर्सिएर माओवादी केन्द्रको कार्यकर्ता बनेको आरोप लगाउनुभएको छ । माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने प्रक्रियामा ढिलाइ गरेकोप्रति आक्रोश व्यक्त गर्दै उहाँले सभामुख सापकोटा माओवादीको कार्यकर्ता भएर एमालेविरुद्ध लागेको आरोप लगाउनुभएको हो ।
ओलीले ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ, भन्नुभयो ।’ अध्यक्ष ओलीले सभामुख भएर संसद चलाउनु छ कि छैन भनेर प्रश्न गर्नुभयो ।
सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै उहाँले सभामुखको भूमिकाप्रति आपत्ति व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गरी प्रक्रिया अघि बढाउन समेत माग गर्नुभएको छ ।