काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको दावी गर्नुभएको छ । आज बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताउनुभयो ।

उहाँले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको जिकिर गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ, भन्नुभयो ।’ उहाँले देशको विकास एमालेले मात्रै गर्नसक्ने बताउँदै त्यसतर्फ लाग्न आग्रह गर्नुभएको छ ।