काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले ‘समाजवादी’ ले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ, उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’ त्यस्तै उहाँले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधान सिध्याउने थियोे । अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हो, अध्यादेश अनि कसरी एउटै हुन्छ ?’ भनेर प्रश्न गर्नुभयो । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ बैशाख पछि पार्टी विभाजन सम्बन्धी तीन पटक अध्यादेश ल्याउनु भएको थियो । जसको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधान सिध्याउने प्रयोजनका लागि ल्याइएको थियो भन्ने अध्यक्ष प्रचण्डको भनाइ हो । अहिले पार्टी विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश प्रतिगामी देशको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षार्थका खातिर ल्याएको भन्ने उहाँको तर्क थियो ।