काठमाडौं – नेकपा एमाले नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । उहाँले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गर्नुभएको छ । नेता माधव कुमार नेपालले एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’ धैर्यता नगुमाउन एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दै पोखरेलले भन्नुभएको छ– ‘यो गतिशील पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुने छैन ।’

नेता नेपालले आफ्नो नेतृत्वमा एमाले समाजवादी दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिनुभएको छ । एमाले समाजवादीमा ५८ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगले दल दर्ताको लगि निवेदन परेको ३५ दिनभित्र निर्णय दिनुपर्ने भएपनि १५ दिन भित्रै दलले मान्यता पाउने/नपाउने भन्ने विषयमा निर्णय गर्ने गरी आन्तरिक काम अघि बढाइएको पोखरेलले बताउनुभएको छ ।