काठमाडौं – लामो विवाद पछि अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विधिवत् रुपमा विभाजित भएको छ । एमाले संस्थापन र एमालेकै असन्तुष्ट पक्षबीचको आन्तरिक पार्टी कलह मिलाउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएपछि वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहले आज निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको हो । आज निर्वाचन आयोगमा नेता नेपालले नेपाल कम्युनिष्ट पार्टी एमाले(समाजवादी) नामको दल दर्ताका लागि निवेदन दिएको छ । पार्टी ले चुनाव चिह्नको टुङ्गो नलगाइ नै पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको छ ।

विगत छ महिनादेखि दुवै समूहले एमाले पार्टीका नाममा अलग अलग बैठक गर्दै आएका थिए । पार्टीलाई एकठिक्का बनाएर जाने भन्दै संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवानचन्द्र नेम्वाङको संयोजकत्वमा दश सदस्यीय विवाद समाधान कमिटी समेत बनेको थियो । तर उक्त कमिटीले पेश गरेको सुझावप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि प्रकट गर्दै आउनु भएता पनि पार्टी अध्यक्ष ओलीले समेत कार्यदलको प्रतिवेदनलाई खासै महत्व नदिंदा एमालेलाई मिलाउनेभन्दा दूरी बढाउने काम भएको थियो । खनाल–नेपाल समूहमा रहेका भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरु भने संस्थापन समूहमा फर्किएका छन् । त्यसैगरी अष्टलक्ष्मी शाक्य पनि ओली खेमामा पुगेको स्रोतको भनाइ छ ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मूख्यमन्त्री बनाउने पक्का भएको छ । मूख्यमन्त्री डोरमणि पौडेलले आजै बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । अष्टलक्ष्मी शाक्यलाई एमाले ओली समुहले बागमती प्रदेशको मूख्यमन्त्रीमा नियुक्त गर्ने भएपछि शाक्य पार्टी एकता टुटाउनु हुन्न भन्दै एकहप्ता अघिदेखि ओली समूहतिर नजिकिनु भएको थियो ।

एमालेका उपाध्यक्ष बामदेव गौतम पनि खनाल—नेपाल समूहमा आउने बागमती प्रदेशका सांसद् तथा खनाल—नेपाल समूहका नेता राजेन्द्र पाण्डेले बताउनु भएको छ । आज दर्ता गरिएको पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ । औपचारिक रुपमा पार्टी विभाजन भएपछि अब एमालेको विवाद टुङ्गिएको छ ।

एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् । अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिका रहेका छन् । पार्टीको केन्द्रीय कमिटी ९५ सदस्यीय बनेको छ । यसमा ५८ जना सदस्यहरु एमालेका तर्फबाट छन् भने बाँकी थप सदस्यहरु छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउन गरिएको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरे लगतै पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएको हो । अध्यादेश जारी भएको केही घण्टापछि नै नेता माधवकुमार नेपालको अगुवाइमा निर्वाचन आयोगमा गै नेपाल कम्युनिष्ट पार्टी एमाले ‘समाजवादी’ को नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको हो । उक्त पार्टीको चुनाव चिन्ह्र के हुने भन्ने अझै टुङ्गो लागेको छैन ।