काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिस्ट एकताको उठान गर्नुभएको छ । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकता गरेरै छोड्ने सङ्कल्पबाट पछि नहट्ने बताउनुभएको छ ।

उहाँले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउन सक्नुपर्ने बताउनुभयो । यथास्थितिमा रहे विघटन र विससर्जनको खतरामा पर्ने डर रहेको बताउँदै उहाँले हजारौँ शहीदहरुको सपना शाकार पार्न अन्तिम समयसम्म लडेर नयाँ मोड लिने बताउनुभयो । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नयाँ ढङ्गले सोचेर स्वार्थी प्रवृत्तिमाथि विजय हाँसिल गर्नु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ थियो ।

उहाँले गणतन्त्र स्थापनापछि पार्टीका नेता कार्यकर्ताहरुमा क्रान्तिकारी प्रवृत्ति हराउँदै गएको बताउँदै अहिले क्रान्तिकारी प्रवृत्ति हराएर व्यक्तिवाद हाबी हुँदै गएको र त्यसलाई परास्त गर्न सके मात्रै पार्टी सफल हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र सिद्धान्तप्रति समर्पितहरुको शक्ति आफूहरु रहेकोले अहिले बिग्रन थालेको संस्कार सुधार्न आत्मसमिक्षा गर्ने र नयाँ सङ्कल्प गर्ने आवश्यकता रहेको बताउनुभयो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि यही कुरामा जोड दिएको प्रचण्डले बताउनुभयो ।

उहाँले हालसम्मका सम्पूर्ण उपलब्धीलाई धरासायी गर्ने प्रवृत्ति कम्युनिस्ट पार्टीमा देखा परे पनि त्यसविरुद्ध निर्मम सङ्घर्ष गरेर तत्कालका लागि विजय हाँसिल गरेको बताउनुभयो । ‘हालै केन्द्रीय समिति बैठकले एक खालको ओरेन्टेसन त गरेको छ तर हामीले ठोस–ठोस रुपमा प्रदेश र स्थानीय तह सबैलाई त्यही विश्वास पैदा गर्ने ढङ्गले सेटिङ गर्न सक्छौँ कि सक्दैनौँ’, प्रचण्डले आफूलाई सच्याउँदै भन्नुभयो ‘सेट गर्न भनौँ‘ यो सेटिङ्ग भब्दले फेरि अर्काे अर्थ लाग्ला । सेट गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हामीलाई छ । नेतृत्व त्यसैमा केन्द्रीत भएर लाग्दैछौँ ।’

प्रचण्डले आफूले जस्तोसुकै मूल्य चुकाउन परे पनि चुकाउने तर नजितेसम्म नछाड्ने सङ्कल्प लिएको र त्यसमा विजय प्राप्त गरेकोे बताउनुभएको छ । उहाँले प्रतिमगन अहिलेलाई परास्त भए पनि लोकतन्त्र र राष्ट्रियता रक्षाको लडाई लामो रहेको बताउनुभयो । अब पार्टीलाई तल्लो तहबाटै बलियो बनाएर जान सके मात्रै यसमा सफल भइने उहाँको धारणा छ ।