काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने तयारी गरेको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गर्ने कामको कार्यतालिका (क्यालेन्डर) बनाइरहेका छौं । त्यही कार्यतालिका अनुसार आयोगको अब हुने सबै कामहरु हुनेछ ।’

आयोगले पूर्णता पाएसँगै वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उहाँको भनाइ छ । शिक्षक सेवा आयोगले नियमावली संशोधन प्रकृया अगाडि बढाएको छ । नियमावली संशोधन भएपछि शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रियामा जाने तयारी गरेको छ । हाल बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ ।

पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ । प्राथमिक तहमा भएका शिक्षक प्राथमिक द्वितीयमा र प्राथमिक प्रथममा जान सक्छन् । निम्न माध्यमिक अथवा माध्यमिक तहमा भएकाहरु पनि त्यसैगरी द्वितीयमा, प्रथममा आन्तरिक प्रतियोगिता परीक्षाबाट जान सक्नेछन् । तर नियमावलीले खुला सरह भनेकाले नियमावली संशोधन गर्नुपर्ने भएको प्रवक्ता मरहट्ठा बताउनुहुन्छ । उहाँले आयोगले नियमावली संशोधनको प्रस्ताव मन्त्रालय पठाएको र मन्त्रालयबाट मन्त्रिपरिषद्मा पुगिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि ढिलाइ भइरहेको बताउनुभएको छ ।

शिक्षा ऐनले विद्यालयको संरचना आधारभूत तह र माध्यमिक तहमा वर्गीकरण गरेको छ । तर नियमावली संशोधन नहुँदा शिक्षक दरबन्दी भने, प्रा.वि, नि.मा.वि र मा.वि तह अनुसार नै हुनेछ । आयोगका अनुसार १२ हजार भन्दाबढी शिक्षक दरबन्दी रिक्त रहेको छ । आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले २०७७ साल चैत मसान्तसम्मको १२ हजार बढी रिक्त दरबन्दी रहेको जानकारी दिनुभएको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार ९ सय १३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६ सय १ दरबन्दी रिक्त रहेको छ ।

आयोगले केन्द्रलाई २०७८ चैत मसान्तसम्मको रिक्त दरबन्दी पठाउन अनुरोध गरेको जनाएको छ । प्रवक्ता मरहट्ठाले भन्नुभयो, ‘२०७८ सम्मको रिक्त दरबन्दीको विवरण भयो भने थप मान्छे स्थायी हुन पाउँछन् भनेर थप गरेर पठाउन अनुरोध गरेका छौं ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भदौ १० सम्म सबै जिल्ला समन्वय इकाइलाई विवरण पठाउन सूचना जारी गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनले सामान्य परीक्षा १०० पूर्णांकको र १०० पूर्णांकको विषयगत परीक्षा भनेर तोकेकाले शिक्षकहरुले २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ । सामान्य परीक्षामा १०० पूर्णांकमा ५० अंक ल्याउनेहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् । त्यस्तैगरी मानवस्रोत विकास केन्द्रले करिब २ हजार ६ सय विभिन्न तहका शिक्षकहरुको बढुवा प्रयोजनका लागि रिक्त विवरण पठाएको आयोगले जनाएको छ ।