काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि सङ्घर्षरत अभियन्ता डा. गोविन्द केसी भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गर्न सहमत हुनुभएको छ । हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत हुनुभएको हो ।

डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने सहित पाँचबुँदे माग राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिनुभएको थियो । उहाँ अनशन बस्न हिजो मङ्गलबार नै बर्दिबास जाने तयारीमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले वार्तामा बोलाएर पाँचबुँदे प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले स्वास्थ्य राज्यमन्त्रीबारे उपयुक्त समयमा सम्बोधन गर्ने र सार्वजनिक पदहरुमा नियुक्ति गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राजमन्त्री नियुक्तिमा त्रुटि भएको स्वीकार गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् विस्तार गर्दा सम्बोधन गर्ने वचन दिनुभएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विषयमा भएको सम्झौता कार्यावयन गर्ने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेको कार्यदलहरुको प्रतिवेदनलाई कानूनी रुप दिने प्रक्रिया मन्त्रिपरिषद् विस्तारपछि अघि बढाउन पनि देउवा सहमत हुनुभएको छ । त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पु¥याउन निर्माण कार्यलाई तीव्रता दिने प्रतिवद्धता पनि देउवाले व्यक्त गर्नुभएको छ । डा. केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन लगायतका सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले सत्याग्रहको कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।