काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू नयाँ पार्टी गठनको बाध्यात्मक अवस्थामा आइपुगेको बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना न्यून बन्दै गएकाले नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइपरेको बताउनुभएको हो ।

आज मङ्गलबार आफूनिकट जनवर्गीय सङ्गठनको बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयासमा लागेका उपमहासचिव घनश्याम भुसालको प्रयास पनि असफल भएको बताउनुभयो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो, ’अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौं र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौँ । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ नेता नेपालले ओलीसँग विचारका आधारमा एकता हुने भन्दै उत्साहसहित सङ्गठन विस्तारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ ।