काठमाण्डौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक कालिकास्थानमा सुरु भएको छ । जसपा गठन भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितसहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर जसपा पार्टी दर्ता गरिएको थियो। त्यसरि गठित जनता समाजवादी पार्टीलाइनै निर्वाचन आयोगले मान्यता दिएको थियो। लगत्तै केन्द्रीय समिति पनि गठन भएतापनि त्यसको नामावली निर्वाचन आयोगमा पठाइएको थिएन।

निर्वाचन आयोगबाट उपेन्द्र यादवखेमाले जसपाको आधिकारिकता पाएपछि केन्द्रीय कमिटीलाई पुनर्गठन गरि ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो सोहि केन्द्रीय कमिटीको बैठक आज कालिकास्थानमा बसिरहेको हो ।

पहिलो दिनको बैठकमा पार्टीको आगामी कार्यदिशा, अभिमुखीकरण,पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान र प्रदेश पहिचानमा आधारित समितिहरु र विशेष तथा जनवर्गीय भातृ संगठनहरुको इन्चार्ज तथा प्रतिनिधिहरुको रिर्पोटिङ सम्बन्धमा छलफल हुनेकुरा जसपाले जनाएको छ।

त्यसैगरि दोस्रो दिनको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुख कार्यक्रम,पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, समन्वय, अनुगमन, मूल्यांकन र निरीक्षण, अवलोकन, अभिलेखिकरण गर्ने लगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्ने विषयमा पनि छलफल गरिने कर्यतालिका रहेको छ।