फाइल तस्वीर

काठमाडौं – सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने गरी दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको भनी नेकपा एमालेले दाबी गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्ले २० प्रतिशतले पार्टी विभाजन गर्नसक्ने गरी निर्णय गरिसकेको बताउनुभएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीलाई पत्रकारहरुले तपाईंको अनुमान कि ठोकुवा हो भन्ने प्रश्नमा २० प्रतिशतले निर्णय गर्ने गरी सरकारले दल फुटाउने अध्यादेश जारी गरेको छ भनी ज्ञवालीले “मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ भन्नुभयो ।” उहाँले विगतमा ओली सरकारले ल्याएको अध्यादेश पनि गलत भएको भन्दै त्यो अध्यादेश गलत थियो भनेर स्वीकार्दै फिर्ता पनि लिएको बताउनुभयो ।

‘ओलीले ल्याएर लागु गर्न नसकेको अध्यादेश देउवा सरकारले ल्याउन लागेको छ, तपाईंहरूले त उत्सव मनाउने होला नि होइन’ भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले “यो पत्रकारकै भाषा हो नि, होइन” भन्दै आफ्नै भनाइ सुरु गर्नुभएको थियो । उहाँले ओली सरकारले त्यो गल्ती थियो भनेर स्वीकार गरिसकेको पनि बताउनुभयो ।

ज्ञवालीले भन्नुभयो –“त्यो गलत थियो, त्यसकारणले सबैतिरबाट विरोध आएपछि हामीले अध्यादेश फिर्ता लिएका थियौँ, त्यो आवश्यक छैन भनेर निष्कर्षमा पुगिसकेको छ, यहाँहरूलाई थाहा होला । केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्था थियो । हामीले कुन ठाउँमा राख्दा त्यतिधेरै विरोध भएको थियो, अहिले २० प्रतिशतले दल विभाजन हुनेगरी अध्यादेश जारी गरिँदैछ ।”

एमालेले दल विभाजन सम्बन्धी अध्यादेश जारी भए सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिति बैठक पछि प्रवक्ता ज्ञवालीले यस्तो चेतावनी दिनुभएको हो । सङ्घर्षको स्वरूप कस्तो हुन्छ भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले नेकपा एमालेलाई चिन्नुभएकै होला, शान्तिपूर्ण सङ्घर्ष र जनपरिचालन हुन्छ भनी ठोकुवा गर्नुभएको छ ।