काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी दिनुभयो ।

निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताउनुभयो । महानिर्देशक नवराज घिमिरेका अनुसार, ‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ, विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिशपछि सीसीएमसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ/खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा सुरू भएपछि गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायल कहिले हुने भन्ने अन्योल भएपछि आवेदन नै अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी गरेको विभागले जनाएको छ ।

विभागले लिखित र ट्रायल दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेर ‘सवारी अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ जारी गरेको छ । विभागले यसअघि एउटै गल्ती भए पनि त्यस्ता चालकलाई अयोग्य ठहराई लाइसेन्सका लागि अस्वीकृत गर्दै आएको थियो । तर नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५ सय प्रश्न सार्वजनिक गरी त्यसैबाट सोध्ने तयारी गरिएको छ । यसैगरी ट्रायलमा अब ७० अङ्क मात्रै प्राप्त गर्नेलाई पनि लाइसेन्स दिइने भएको छ ।