काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिजो कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो ।
रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र नियुक्त गरिएका कुलमान घिसिङलाई काम गर्न नदिन माग पनि गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शाक्यलाई २०७७ साल माघ २९ गते नियुक्ति गर्दा ४ वर्षको कार्यकालका लागि भनी उल्लेख गरिएको थियो ।
सर्वोच्चमा दायर भएको रिट निवेदनमा कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभएको र यसको बर्खास्ती पनि राजनीतिक निर्णयबाट हुन नसक्ने दाबी गरिएको छ । निवेदनमा ऊर्जा मन्त्रीले गत साउन २ गते आफूलाई बोलाएर सो पदमा घिसिङलाई ल्याउन लागिएको भन्दै राजीनामा दिनका लागि भन्नुभएको उल्लेख छ । साथै मन्त्रीले राजीनामा दिएमा आफूलाई अन्य आकर्षक पदमा नियुक्ति दिने प्रलोभन दिनुभएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ । तर सर्वोच्चमा दायर भएको रिट निवेदनको सुनुवाइ भोलि मात्रै हुने भएको छ ।