काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यक्रम रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभएको हो । उहाँले बताए अनुसार, आज बिहान ११ बजे बैठक बस्ने जानकारी आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति संसद् अधिवेशन अन्त्य गरेसँगै एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको हो । दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएकोले बैठक बस्न लागेको हो ।

तर ओली पक्षमा भने नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागेको भन्ने चर्चा भइरहेको छ । हिजो मात्रै अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटीका केही नेताहरू पुगी एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउनसक्ने तर्क राखेका थिए ।