काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताउनुभएको छ । आज गएराति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउनुभएको हो ।

उहाँले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी समेत गर्नुभएको छ । उहाँले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपिल समेत गर्नुभएको छ ।

ओलीले विज्ञप्तिमार्फत् भन्नुभएको छ, “पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ, नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।”