काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले संसदलाई भूमिकाविहीन बनाएर चालु अधिवेशन अन्त्य गर्दा अघिल्लो सरकारका पालामा रोइलो गर्नेहरू मौन रहन बाध्य भएको टिप्पणी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य हुने निर्णय गर्नुभएको हो ।

संसद अधिवेशन अन्त्य भएपछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै लेख्नुभएको छ, ’हिजो सरकारले संसद्लाई बिजनेस दिएन भनेर रोइलो गर्नेहरू अहिलेको सरकारले संसद्लाई भूमिकाबिहीन बनाएर अन्त्य गरेकोमा मौन रहन बाध्य छन् ।’

उहाँले अध्यादेशको विरोध गर्नेहरू अध्यादेशकै बाटोमा भएको पनि बताउनुभएको छ । ’शीघ्र चुनावको विरोध गर्नेहरू चुनावकै तयारीमा छन्,’ उहाँले भन्नुभएको छ, ’ उनीहरू जे गरुन् नेकपा एमाले सामना गर्न तयार छ ।’ नेता पोखरेलले शीघ्र चुनावको विरोध गर्नेहरू चुनावकै तयारीमा रहेको पनि बताउनुभयो ।