काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं । स्वास्थ्य मन्त्रालय सकारात्मक छ । खोपको टुङ्गो लागेपछि परीक्षा तालिका बनाउने तयारीमा लाग्छौं ।’ साउन ३१ गतेदेखि हुने परीक्षा कोरोना सङ्क्रमणको जोखिम भएको भन्दै सीसीएमसीले स्थगित गर्न अनुरोध गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले पौने चार लाख विद्यार्थीको परीक्षा सञ्चालनका लागि ४ हजार ३ सय १० परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको थियो । मन्त्रालयले आगामी हप्ताभित्र बाँकी आठ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ । बोर्डले खोपको टुङ्गो लागेपछि मात्रै परीक्षा तालिका निर्माण गर्ने जनाएको छ ।