काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको स्थिति सामान्य नरहेको बताउँदै आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहेता पनि आगामी राष्ट्रिय सम्मेलनसम्मका लागि बहसको आधार तयार भएको जानकारी दिनुभएको छ ।

उहाँले ८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशाबोध गर्ने दस्तावेज तयार पार्ने बताउनुभयो । प्रचण्डले भन्नुभएको छ, ‘त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।’ अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य नरहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले, ‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो भने यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुने बताउनुभएको छ ।’

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डको दाबी छ । आज केन्द्रीय समितिको बैठकमा प्रचण्डले, ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ, अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं भन्नुभएको छ ।’