काठमाडौं— सत्ता घटक दल नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको साउन २९ गते शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ८ देखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । अखिल क्रान्तिकारीद्वारा आज आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् अध्यक्ष रञ्जित तामाङले उक्त कुराको जानकारी दिनुभएको हो ।

राष्ट्रिय सम्मेलनका लागि आगामी भदौ १५ गतेसम्ममा इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन गरिसक्ने र भदौ २५ देखि असोज १ गतेभित्र जिल्ला समितिहरुको भेला तथा सम्मेलन गरिसक्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । सहमतिको आधारमा सबै तहका भेला तथा सम्मेलनहरू गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उप–समितिहरु बनाएको जानकारी दिंदै अध्यक्ष तामाङले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराएको भन्दै पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ । अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उपकुलपतिलाई तत्काल बर्खास्त गर्न समेत माग गरेको छ ।