फाइल तस्वीर
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने जानकारी आएको छ ।
माओवादी केन्द्रको हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने भएको हो ।
अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएको हो । हिजो बसेको बैठकमा उहाँले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।