काठमाडौं – आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ । भोलि देशका अधिकांश स्थानमा बदली रही प्रदेश एक, दुई, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यसैगरी मङ्गलबार देशका अधिकांश स्थानमा बदली रही प्रदेश एक, दुई, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टामा प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।