काठमाडौं– पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै सोही कारण २७ जनाले ज्यान गुमाएका छन् । उक्त कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गराएको हो । पछिल्लो चौबीस घण्टामा ११ हजार ७ सय ८ पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै १ हजार ८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ९९ जना, भक्तपुरमा १ सय ६२ र ललितपुरमा १ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा आजसमेत गरी कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा १० हजार २ सय ३९ जनाको ज्यान गुमेको छ । देशभर हालसम्म ३८ हजार ७ सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।