फाइल तस्बिर
काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा पार्टीको बैठक सुरु भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस आन्तरिक विवादलाई सल्ट्याउन नसक्दा पार्टीको १४ महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित प्रायः भएको छ । आसान्न महाधिवेशन रोकिनुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष नै हो । तर सहतमा अहिले देखिएको विवाद भनेको क्रियाशील सदस्यता सम्बन्धी विवाद हो । प्रधानमन्त्री तथा पार्टी सभापति समेत रहनुभएका शेरबहादुर देउवा नेतृत्वको विषयलाई लिएर पार्टी भित्र चौतर्फी रुपमा घेराबन्दीमा पर्नुभएकोले महाधिवेशन होस् भन्ने पक्षमा देखिनुभएको छैन । नेतृत्वले आफुलाई कमजोर महशुस गरेपछि महाधिवेशनको निर्धातिर मितिलाई पर सार्ने नेपाली राजनीतिको परम्परा जस्तै बनेको छ ।

काङ्ग्रेस सभापति देउवा पनि यतिखेल पार्टीमा आफुलाई कमजोर महशुस गर्नुभएकोले तोकिएको मितिको महाधिवेशन केही पर सार्ने मुडमा रहनु भएकोले तल्लो निकायदेखि प्रदेश र क्षेत्रीय अधिवेशन समेत स्थगित हुन पुगेका छन् । हिजो बसेको पार्टीको बैठकमा अब भदौमा महाधिवेशन गर्न नसकिने भन्दै क्रियाशील सदस्यता विवादलाई सम्बोधन गर्ने गरी महाधिवेशनको लागि नयाँ मिति तोक्न छलफल भएको थियो । महाधिवेशन र क्रियाशील सदस्यता वितरणको विवादबारे ठोस निर्णय गर्न नसक्दा हिजो बिहीबारको बैठक स्थगित भएको थियो ।

हिजोको बैठकमा काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गर्नुभएको थियो भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवादबारे बैठकलाई जानकारी गराउनु भएको थिए । छानबिन समितिका संयोजक लेखकले १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको जानकारी गराउनु भएको थियो । क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनप्रति फरक मत राख्नुभएका छानबिन समितिका सदस्य प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीले हिजोको बैठकमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

नेता गुरुङले क्रियाशील सदस्यताको सक्कलप्रति पेश समावेश नगरी सभापतिलाई प्रतिवेदन बुझाइएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको थियो । केन्द्रीय सदस्य मोहन बस्नेत र हृदयराम थानीले पनि आफ्नो जिल्लामा भएको विवादबारे बैठकलाई जानकारी गराउनु भएको थियो । काङ्ग्रेसले साउन १२ गतेदेखि सुरु भएर भदौ १६–१९ गते सम्मको महाधिवेशनको पुरानो कार्यतालिकालाई बेवास्ता गर्दासमेत स्थानीय तहका अधिवेशनदेखि पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति ल्याउन सकेको छैन । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच विवाद चकिंदै गएको छ । एकले अर्को पक्षलाई तोकिएको मितिमा महाधिवेशन नगर्ने वातावरण बनाएको आरोप लगाउन थालेका छन् ।


वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ४८ जिल्ला सभापतिहरुले पाँच दिन अघि राजधानीमा भेला गरेर तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्वलाई दवाव दिएका थिए । यसैगरी बुधबार पार्टी सभापति देउवा निकट जिल्ला सभापतिहरुले ललितपुरको समीट होटलमा भेला गरी भर्दौ १६ देखि १९ गतेका लागि तोकिएको महाधिवेशन पार्न ६ बुँदे प्रस्ताव सहित सभापतिलाई ज्ञापन पत्र बुझाएका थिए । हिजोमात्रै वरिष्ठ नेता पौडेल पक्षका नेता तथा कार्यकर्ताहरुले महाधिवेशन सार्न पाइदैन भन्दै नाराबाजी पनि गरे ।

यसरी काङ्ग्रेसको आसन्न महाधिवेशन अन्योल बन्दै जाँदा पार्टीको वैधानिकता आगामी २३ गते पछि सकिने अवस्था छ । पार्टीको वैधानिकता जोगान अब काङ्ग्रेसले देशमा कोरोना भाइरसको महामारीका कारण समयमा महाधिवेशन गर्न नसकिएको कुरालाई ख्याल गर्दै केही समय म्याद थप गर्न निर्वाचन आयोगसँग याचना गर्ने तयारी गरेको बुझिएको छ । यसैक्रममा सभापति देउवा पक्षले आगामी मङ्सिरमा तल्ला तहको अधिवेशन सुरु गरेर माघमा महाधिवेशन गर्न चाहेको छ भने पौडेल पक्षले भदौमा हुनुपर्ने अडान राख्दै आएको छ ।

काङ्ग्रेसले गतवर्ष पनि भदौ ६ गतेदेखि महाधिवेशन गर्ने मिति तय गरेको थियो । त्यतिबेला पनि देशमा कोरोना भाइरसको महामारी र क्रियाशील सदस्यता वितरणको विवाद उब्जेको थियो । यिनै कारण देखाउँदै महाधिवेशन स्थगित हुन पुगेको थियो । काङ्ग्रेसको विधानले प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान छ । त्यसपछि विशेष कारणले एक वर्ष थप गर्न सकिने व्यवस्था पनि छ । काङ्ग्रेस विशेष कारण देखाएर बढीमा अर्को ६ महिना थप गर्दा ५ वर्ष ६ महिनाको समय आगामी भदौ २३ गते गुजार्ने छ । त्यसपछि नेपालको संविधान र काङ्ग्रेस पार्टीको विधानत पार्टीको वैधानिकता माथि प्रश्न उठ््ने निश्चित छ ।