काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार मुलुकभरको मौसम बदली भै विभिन्न भागमा सामान्यदेखि मध्यमखालको वर्षा हुने छ । हिजोदेखि केही सक्रिय भएको मनसुन आजपनि सक्रिय भै देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । मौसमविद्ले बताए अनुसार देशको प्रदेश नं. एक, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मुलुकका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खाले वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
महाशाखाले जनाए अनुसार अहिले शुक्रबार बिहान देशको मौसममा बदलीभै प्रदेश नं. दुई तथा बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार राति पनि मनसुन सक्रिय हुनेहुँदा देशका अधिकांश क्षेत्रहरुमा सामान्यदेखि मध्यम खालको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रदेश एक र दुईको साथै बागमती प्रदेशका थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघ गर्जनुका साथै चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले मनसुन केही सक्रिय रहेको मौसमविद्ले बताएका छन् ।