काठमाडौं – सरकारले हालसम्म ९७ लाख डोज खोप वितरण गरिसकेको बताएको छ । पूर्ववर्ती सरकारले १८ महिनामा ४२ लाख डोज खोप उपलब्ध गराएकोमा काङ्ग्रेसको सरकार आएपछि ९७ लाख डोज खोप वितरण गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । नेपाललाई ५ करोड ५० लाख डोज आवश्यक पर्नेमा सरकारले १ करोड ८ लाख डोज खोप सुनिश्चित गरेको उहाँले बताउनुभयो । यसले ३३ प्रतिशत जनतालाई खोप लगाउन पुग्छ । उहाँका अनुसार, ’सरकारले सबै नागरिकलाई खोप पु¥याउन आयात, भण्डारण र वितरणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले युवायुवतीलाई लक्षित गर्दै फाइजर र मोर्डना ल्याउने तयारी भइरहेको बताउनुभयो । स्वास्थ्य संस्थाहरूको सुधार गर्दै विशेष सेवालाई वृद्धि गर्ने योजनामा सरकार रहेको उहाँको भनाइ छ । उहाँले सरकारले स्वास्थ्य दरबन्दी वृद्धि गर्दै स्वास्थ्यको सहज पहुँच पु¥याउने लक्ष्य राखेको पनि बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड महामारी बढिरहेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सरकारले खोप वितरणलाई व्यवस्थित गर्दै उमेर समूह र आर्थिक गतिविधि बढी हुने क्षेत्रमा खोप वितरण गर्दै लैजाने बताउनुभयो । हालसम्म ४५ लाख ५ सय ५३ जनाले पहिलो डोज खोप लगाएका छन् भने २८ लाख ८८ हजार ३ सय ६० जनाले खोपको पूर्ण डोज पाएका छन् । सरकारसँग विभिन्न प्रदेशमा हाल ९ लाख मात्रा भेरोसेल भण्डारणमा रहेको छ भने एस्ट्राजेनेका ११ लाख डोज र जोनसोन २१ हजार डोज रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यस्तै केन्द्रीय भण्डारणमा १ लाख ६१ हजार एस्ट्राजेनेका र जोनसन ११ हजार डोज बाँकी रहेको उहाँले बताउनुभयो । सरकारले तेस्रो भेरियन्टलाई मध्यजनर गर्दै आईसीयू बेडको संख्यालाई ३ हजार पु¥याएको र अझै १ सय ३० भेन्टिलेटर थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले तेस्रो भेरियन्टले बालबालिकालाई असर गर्ने खतरा रहेकाले बालबालिकाका लागि चाहिने स्वास्थ्य पूर्वाधार थप गर्ने प्रक्रियामा सरकार रहेको बताउनुभयो ।