बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।


एमालेका नेता शङ्कर पोखरेलले अविश्वासको प्रस्ताव फेस नगर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको ढोका खुलेको हो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु¥याएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले आज बिहीबार ३ बजेसम्मका लागि समयसीमा तोक्नु भएसँगै नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएको थियो ।


नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले मुख्यमन्त्रीको रुपमा आज माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्नेछ । केसीको समर्थनमा यी चारवटै दलका गरी कुल ४१ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । चार दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद रहेका छन् ।


गठबन्धनका ठूला दल नेकपा माओवादी र नेपाली काङ्ग्रेसले पालैपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ । करिब १६ महिनाको अवधि बाँकी रहेकोमा सहमति अनुसार माओवादी केन्द्रले आठ महिना र त्यसपछिको बाँकी आठ महिना नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने छ । प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।