काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना रहेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा हिजो बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको थियो । स्रोतका अनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमा नै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने काङ्ग्रेसले बताइसकेको छैन । यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताउनुभएको थियो । क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा काङ्ग्रेसका शीर्ष नेताहरु पुगेका छन् । तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन । आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी रहेको जनाइएको छ ।