काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभएको हो । नेपाल कानुन व्यवसायी परिषद्ले हिजो बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार, ‘न्यायपालिकाले गर्ने सबै फैसला समाज र नागरिकसँग अभिप्रेरित हुन्छ र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनुहुन्न र महत्त्व पनि दिनुहुन्न । यो आफैँ महत्त्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरू राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकाय यसै अन्तर्गत पर्दछन् ।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको दावी गर्नुभयो । कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको पनि बताउनुभयो । उहाँले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गर्नुभयो ।