काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधबार १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त लिखित जवाफ माग गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको घर नभत्काइ संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ । सो घर भने भत्काइ सकिएको छ । –रासस