काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको छ ।

सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ । परीक्षामा सहभागी विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्ने माग गरेपछि प्रवेश पत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको हो ।