काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमतिबाट मात्रै अगाडि बढाउने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोष्ट्रमबाटै प्रश्न गर्नुभएको थियो । सभामुख सापकोटाले केही सञ्चारकर्मीहरुसँग बुधबार आफ्नै कार्यकक्षमा कुरा गर्दै एमसीसी तत्काल कार्यान्वयनमा नआउने सङ्केत गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाका अनुसार– ‘एमसीसी पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो पनि भएन भने कमसेम संसदमा रहेका दलहरुबीच समझदारी हुनु आवश्यक छ ।’ उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो– ‘एमसीसीका समग्र पक्षबारे म पनि छलफल गरिरहेको छु, निष्पक्ष भएर, खुला दिमागले छलफल गरिरहेको छु ।’

उहाँले एमसीसी जनताको तहमा पुगिसकेको उल्लेख गर्दै यसलाई सत्तारुढ गठबन्धनले विचार गर्नुपर्ने बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले आफैँले पनि एमसीसीको समग्र पक्षबारे मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै पर्याप्त छलफल र सहमतिबिना एमसीसी अघि नबढ्ने सङ्केत पनि दिनुभएको छ ।