काठमाडौं – नेपाल विद्युत् प्रधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई प्राधिकरणका कर्मचारीहरुले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उहाँले आज पदभार ग्रहण गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले घिसिङलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक हुनुभएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा हुनुभएको थियो । अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय हुनुभएको थियो । उहाँको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

अहिले नयाँ सरकार गठन भएसँगै कुलमानको नियुक्ति भएको हो । ऊर्जामन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लानुभएको थियो । घिसिङलाई प्राधिकरणमा ल्याइसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा नयाँ पद सिर्जना गरी सरुवा गर्ने व्यवस्था गरेको छ ।