काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अब औपचारिक रुपमा विभाजन हुने सङ्केत देखिएको छ । एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले अब पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग सम्झौता नगर्ने बताएसँगै यस्तो सङ्केत देखिएको हो ।

पाँच महिना अघिदेखि विवादमा रुमलिएको एमाले अहिलेसम्म न जुट्न सकेको छ, न त जुट्न नै । दोस्रो तहका नेताहरुले जतिसुकै पार्टी एकताको ढ्वाङ फुके पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सुमधुर सम्वाद र उत्पन्न विवादलाई समाधान गर्न जुट्दैनै तबसम्म पार्टी एकता असम्भव प्रायः देखिएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीमा कुनै स्थान नदिने बताइसक्नु भएको छ । दोस्रो तहका नेताहरु दुवै शीर्ष नेतृत्वलाई एकै ठाउँमा बसालेर वार्ता गराउन कोशिस गरेपनि त्यसले सार्थकता पाउन सकेन । मुख्यत पार्टी अध्यक्ष ओलीले सबै पक्षलाई समेटेर पार्टी हाँक्नुभन्दा आफ्नै कोटरीभन्दा बाहिर निस्कन नचाहेकाले एमाले अब केही समयमै औपचारिक रुपमा फुट्ने सम्भावना बढ्दै गएको छ ।

यता वरिष्ठ नेता नेपालले पनि आफु कमजोर भएर ओलीको सामु घुँडा नटेक्ने बताउँदै आउनु भएको छ । यथास्थितिमा पार्टीमा एकता कायम गरेरे बढ्न सक्ने अवस्था नरहेको नेपाल पक्षका नेताहरुको भनाइ त्यही छ । बरु पार्टी फुटोस्, तर यथास्थितिमा संस्थापन पक्षसँग मिल्न सकिन्न भन्दै आएका छन् । पार्टीको आधिकारिक कागजातमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने अडान वरिष्ठ नेता नेपालले राखेता पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले आज एमविविएको इन्ट्रान्स परीक्षामा सर्वोकृष्ट भएका आशिक झालाई सम्मान गर्न अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै आफु एकताको नाममा कसैको टाङमुनी नछिर्ने भन्दै अध्यारो सुरुङमा छिर्दैनौ भन्नुभयो । नेता नेपालले दम्भी अहङ्कारीहरुलाई चुनौती दिएर नै अघि बढ्नेछौं भन्दै यस धर्तीमा बहादुरहरुको मात्रै सम्मान हुन्छ, डरपोक कायरहरुको सम्मान हुँदैन । सही बाटोमा सत्य र न्यायको बाटोमा अघि बढ्छौं’ भन्नुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता नेपालले आफू पक्षीय कर्णालीका तीन जना सांसदहरुलाई जिताएर ल्याउने दावी गर्नुभयो । एमालेका नेता तथा प्रदेश सांसद प्रकाश ज्वालासहित तीन जना नेताहरुलाई एमाले संस्थापन पक्षले कारवाही गरेका पार्टीबाट निकालेको थियो । पार्टीको ह्वीप विपरीत हिम्मतका साथ काम गरेर उहाँहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई जोगाउनु भएको थियो । यसै सन्र्दभमा नेता नेपालले ‘हाम्रा कर्णाली प्रदेशका साथीहरुले बडो हिम्मत र आँटका साथ, गतल प्रवृतिको विरुद्धमा जुट्ने जुन हिम्मत र साहस गर्नुभयो, ‘मैले उहाँहरुलाई भनेको छु, तपाईंहरुको पद खारेज भयो भने जिताएर ल्याउने जिम्मा मेरो हो’ भनेको छु ।