बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा आजै विपक्ष गठबन्धनले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

साउन १९ गते मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभा सचिवालमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता गराएपछि गठबन्धन दलले प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशन डाक्न समावेदन दिएका थिएका थिए । सोही आधारमा प्रदेश प्रमुखले आज साउन २७ गतेको लागि विशेष अधिवेशन आह्वान गर्नु भएको थियो । मुख्यमन्त्री पोखरेल विरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश हुने र आजै पोखरेलले विश्वासको मत लिन नसके लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा कसरी फेस गर्ने भनेर आफ्नो संसदीय दलको बैठक बोलाएको थियो । मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिने कि अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने विषयमा सार्वजनिक गरेको छैन । यद्यपि, मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने अवस्था नरहेकोले सम्भवत पदबाट राजीनामा दिनुहुनेछ ।

यसअघि पनि विपक्षी गठबन्धन दलले मुख्यमन्त्री पोखरेल विरुद्ध गठबन्धनले गत बैशाखमा ६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मुख्यमन्त्रीले बैशाख १९ गते बिहान राजीतामा दिए । सोही दिन विभिन्न जालझेल गरी पुनः मुख्यमन्त्रीमा नियुक्त भए । त्यसयता प्रदेशसभामा सत्ता पक्ष र विपक्षी गठबन्दन दलहरुबीचको माथापच्चिसी चलिरहेको थियो ।

सोही दिन पनि गठबन्धन दलहरुले ४२ जना प्रदेश सांसदको हस्ताक्षर सहित नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका तापनि प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको निवासमै गएर पद तथा गोपनीयताको शपथ खुवाएर शङ्कर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । गत बैशाख २६ मा विपक्षी गठबन्धन दलहरुले ४२ जना सांसदको दस्तखत सहित पुनःअविश्वासको प्रस्ताव दर्ता गरे । तर तत्कालीन प्रदेश प्रमुख यादवले आवश्यक नरहेको भन्दै विशेष अधिवेशन नै आह्वान गर्न चाहनु भएन ।

लुम्बिनी प्रदेशमा हाल कायम प्रदेशसभा सदस्यको सङ्कख्या ८० जना रहेको छ । जसमध्ये सत्तारुढ दल एमालेका ३८ जना सांसद रहेका छन् । दुवै पक्षलाई बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । तर मुख्यमन्त्री पोखरेलको पक्षमा ४१ मत पुग्ने अवस्था छैन । गठबन्धन दलहरुको सङ्ख्या ४१ सिट रहेको छ । जसमध्ये नेपाली काङेग्रेसको १९, नेकपा माओवादी केन्द्रको १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।