काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । अहिलेसम्म सङ्क्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १ सय ९८ जना निको भएका छन् भने नेपालमा कोरोना भाइरसको कारण १० हजार १ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । आज २ हजार १ सय १५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र १ हजार १८६ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ७ सय ९५, ललितपुरमा २ सय ३९ र भक्तपुरमा १ सय ५१ जना सङ्क्रमित रहेका छन् ।

देशभर हाल ३७ हजार ३ सय ३२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहँदा १ सय ७६ जना भेन्टिलेटर र ७ सय ६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।