काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार गठन भएको एक महिना वित्दा पनि केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै एमाले संसदीय नेता ओलीले उक्त धारणा व्यक्त गर्दै सरकारले काम गर्न नसकेको भन्दै व्याङ्ग्यात्मक रुपमा बधाई समेत दिनु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले देउवा नेतृत्वको सरकारप्रति लक्षित गर्दै अबका १५ महिनाको समय बधाई तथा शुभकामना खाँदै प्रतिपक्षी दललाई गाली गरेर विपक्षीलाई गाली मात्रै समय व्यतित गर्ने दावी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना वितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । यसले सरकारको कार्यक्षमता माथि नै प्रश्न उब्जिएको छ ।

सरकारबाट हटेपछि विरक्तिन पुग्नु भएका एमाले अध्यक्ष ओलीले आफू फेरि पनि सरकारको नेतृत्वमा पुग्ने भन्दै आफू प्रधानमन्त्री बन्न जन्मेको नभई काम गर्दै जाँदा प्रधानमन्त्री भएको जिकिर गर्नुभयो । संसदमा बोल्दै एमाले अध्यक्ष ओलीले ‘म यो देश र देशका जनताको सेवाका लागि जन्मिएको हुँ । काम गर्दै जाँदा प्रधानमन्त्री भएको हुँ तर प्रधानमन्त्री हुन जन्मिएको होइन ।’

एमाले संसदीय दलका नेता ओलीले आफु फेरि पनि असाधारण जनमतका साथ मूलढोकाबाट सत्तामा दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘मेरा काम हेरेर जनताले मत दिएका हुन् । म अरु नेताहरुको जस्तो इस्र्या, कुण्ठा र स्वार्थका समिश्रणबाट प्रधानमन्त्री भएको होइन । ओलीले असंवैधानिक, अलोकतान्त्रिक, अपवित्र गठबन्धन बनाएर आफूलाई हटाइएको भन्दै ‘उछिट्टिएर, जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट पनि भएको थिइन’ भन्दै संसद बैठकमा बोल्दै सरकारप्रति कटाक्ष गर्नु भयो ।

नेपाली जनतालाई संवृद्ध बनाउने उद्देश्य लिएर हिँडेको मान्छेलाई सानातिना गालीले फरक नपार्ने बताउँदै एमाले अध्यक्ष ओलीले ‘मेरो कार्यक्रय, योजना बनाएर त्यसैअनुसार अघि बढेको छु’ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले ‘आफ्नो नेतृत्वको सरकारको गन्तव्य प्रष्ट थियो । राज्य सञ्चालन गर्दा अपनाउनु पर्ने सजगता अपनाइएको थियो । स्वच्छ र पारदर्शी रुपमा नियुक्त गरेको थिएँ । नातावाद, क्रिपावादको छाया समेत पर्न दिइन’ भन्ने जिकिर पनि गर्नुभयो ।